यो पटक पनि काठमाडौंमा माओवादी शून्य प्रचण्डलाई ठुलो झटका

यो पटक पनि काठमाडौंमा माओवादी शून्य प्रचण्डलाई ठुलो झटका
सत्ता गठबन्धनको भागबन्डामा काठमाडौँ जिल्लाका १० सिटमध्ये तीन सिट पाएको माओवादी केन्द्रले निर्वाचनमा यस जिल्लामा ५ जना उम्मेदवारहरू खडा गरेकोमा सबै उम्मेदवारहरू पराजित हुन पुगेका छन् ।
२०७४ को सङ्घीय निर्वाचनमा बाम गठबन्धनमा चार सिट पाउँदासमेत एक सिट पनि जित्न नसकेको माओवादी केन्द्र अहिले पनि काठमाडौँमा निल भएको छ ।
गठबन्धनको भागबन्डामा तीन सिटमा तीन जना महिला उम्मेदवारलाई अगाडि सारेको यस पार्टीले जित निकाल्न सकेनन् ।
पूर्व सभामुख समेत रहेकी ओनसरी घर्तीलाई सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट टिकट लिएर काठमाडौँ क्षेत्र नम्बर २ को उम्मेदवार बनाइएको थियो । निर्वाचनको अन्तिम नतिजा आउँदा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम १४ हजार २२९ मतका साथ निर्वाचित हुँदा घर्ती ९ हजार ४४९ मतका साथ तेस्रो स्थानमा रहन पुगिन् । चुनावी प्रचारप्रसारको क्रममा प्रचण्डले ओनसरी प्रधानमन्त्री हुन सक्ने व्यक्ति भएको समेत बताएका थिए ।
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई गठबन्धनले काठमाडौँ-७ बाट टिकट दिएको थियो । पहिलो पटक निर्वाचनमा सहभागी भएकी मानुषी पराजित हुन् पुगिन् । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मतका साथ निर्वाचित हुँदा मानुषीले ६ हजार ८०० मतका साथ तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो ।
पूर्व मन्त्री समेत रहेकी माओवादी केन्द्र की नेतृ कल्पना धमलाले गठबन्धनको तर्फबाट काठमाडौँ-९ टिकट पाएकी थिइन् तर उनी पनि पराजित हुन पुगिन् । यस निर्वाचन क्षेत्रबाट नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ ११ हजार ९५६ मतका साथ निर्वाचित हुँदा धमला ६ हजार ४०२ मतका साथ तेस्रो स्थानमा पुगिन् ।
सत्ता गठबन्धनमा विद्रोह गरेर काठमाडौँ १० मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी अन्जना विशंखे निर्वाचनको अन्तिम मत परिणाम आउँदा पाँचौँ स्थानमा पुगिन् । यस क्षेत्रबाट नेपाली कांग्रेसका राजेन्द्र कुमार के.सी. १४ हजार ४५८ मतका साथ निर्वाचित हुँदा पाँचौँ स्थानमा रहेकी विशंखे ५ हजार २६२ मत पाइन् ।
काठमाडौँ तीन मा भने गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले मित्रवत् प्रतिस्पर्धा गरेका थिए । त्यहाँबाट गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत रहेका नेपाली कांग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मतका साथ निर्वाचित हुँदा माओवादी केन्द्रका बद्री प्रसाद बजागाईले जम्मा ५१८ मतका साथ तेस्रो स्थानमा रहन पुगे ।
केटिएम दैनिक